४ असोज २०८३, आइतवार 20 Sep 2026, Sunday

सप्तकोसीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २७ ढोका खोलिए

पूर्वी पहाडी क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।
Nepal NB News
२२ भदौ २०८३, सोमवार

सुनसरी — पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २० हजार क्युसेक पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये २७ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहरका ढोका रहेका छन्।

नदीमा पानीको सतह बढ्दै गएपछि जोखिमको संकेतस्वरूप कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झन्डासमेत फहराइएको छ।

सप्तकोसीमा बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीको पानीको सतह तथा बहावको अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ।

प्रहरीले विशेषगरी कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित : २२ भदौ २०८३, सोमवार 13:56

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved