१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल १२औँ स्थानमा सीमित

Nepal NB News
६ असोज २०८३, मङ्गलवार

काठमाडौँ — जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबल प्रतियोगितामा नेपाल १२औँ स्थानमा रहँदै आफ्नो यात्रा टुङ्ग्याएको छ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएको ११औँ स्थानको छनोट खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित भएपछि १२औँ स्थानमा सीमित भएको हो।

जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा भएको उक्त प्रतिस्पर्धात्मक खेलमा मंगोलियाले नेपाललाई २५–२३, २५–१७ र २५–१३ ले पराजित गर्यो। पहिलो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै मंगोलियालाई कडा चुनौती दिएको भए पनि अन्तिम समयमा अङ्क गुमाउँदा २५–२३ ले सेट सुम्पन पुगेको थियो। त्यसपछिका दोस्रो र तेस्रो सेटमा मंगोलियाले लगातार दबाब बनाएर खेल आफ्नो पक्षमा पार्यो।

प्रतियोगितामा नेपालको प्रदर्शन

कूल १४ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा नेपालले जम्मा ५ खेल खेल्दा १ खेलमा जित र ४ खेलमा हार व्यहोर्यो।

  • समूह चरण: समूह 'ए' मा रहेको नेपाल आयोजक जापान र इन्डोनेसियासँग समान ३–० को सोझो सेटमा पराजित हुँदै पदक होडबाट बाहिरिएको थियो।

  • वर्गीकरण खेल (९-१४औँ स्थान): क्लासिफिकेसन खेलमा नेपालले किर्गिस्तानमाथि ३–० (२५–२०, २५–१६, २५–२०) को उत्कृष्ट जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ज गरेको थियो।

  • वर्गीकरण खेल (९-१२औँ स्थान): त्यसपछिको खेलमा नेपाल हङकङसँग ३–० (२५–२०, २५–१९, २८–२६) को प्रतिस्पर्धात्मक हार व्यहोर्न पुगेको थियो।

नेपाली महिला भलिबल टोलीको एसियाली खेलकुदमा यो दोस्रो सहभागिता हो। यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाडमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो।

प्रकाशित : ६ असोज २०८३, मङ्गलवार 17:10

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved