११ मंसिर २०८३, बिहिवार 26 Nov 2026, Thursday

चीनमा ७ टन श्रेणीको विशाल मानवरहित कार्गो विमान ‘चाङयिङ–८’ को सफल परीक्षण

Nepal NB News
११ मंसिर २०८३, बिहिवार

बेइजिङ । चीनले स्वदेशमै विकास गरेको ७ टन श्रेणीको विशाल मानवरहित कार्गो हवाईयान (यूएभी) ‘चाङयिङ–८’ (NORINCO LUCA) को कार्गो ढुवानी तथा सटीक एयरड्रप परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । चीनको सरकारी रक्षा तथा प्रविधि कम्पनी 'नोरिन्को ग्रुप' (NORINCO) को सहायक संस्थाद्वारा निर्मित यो मानवरहित विमानको परीक्षण नोभेम्बर २०२६ को मध्यतिर सफल भएको हो ।

३.५ टन सामान बोक्ने क्षमता
अधिकतम ७ मेट्रिक टन 'टेकअफ' तौल (उडान तौल) श्रेणीको यो मानवरहित विमानले एकैपटकमा ३.५ टनसम्म कार्गो (सामान) बोक्न सक्छ । परीक्षणका क्रममा विमानले निर्धारित मार्गमा उडान भर्दै ३०० मिटरको उचाइबाट प्यारासुटको सहायताले स्वचालित रूपमा सामान खसाल्ने (एयरड्रप) कार्य सटीक रूपमा पूरा गरेको थियो ।

उडानकै क्रममा सामान खसाल्दा विमानको तौलमा आउने अचानक परिवर्तनसँगै सन्तुलन मिलाउन सक्ने स्वचालित प्रविधि (फ्लाइट–ट्रिम एडजस्टमेन्ट) को पनि सफल परीक्षण गरिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सामान खसालेपछि विमान सुरक्षित रूपमा अवतरण गरेको थियो ।

विपद् उद्धार र दुर्गम क्षेत्रमा उपयोगी
उच्च पहाडी तथा दुर्गम भौगोलिक क्षेत्रहरूमा अत्यावश्यक सामग्री ढुवानी गर्न, प्राकृतिक विपद्का बेला राहत तथा उद्धार सामग्री पुर्‍याउन र सैन्य आपूर्ति व्यवस्था सहज बनाउन यो प्रविधि निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यसअघि नोभेम्बर १४, २०२६ मा मात्र चीनको निजी कम्पनी 'एयर ह्वाइट ह्वेल' ले निर्माण गरेको अर्को विशाल मानवरहित कार्गो विमान ‘W5000’ को पनि पहिलो परीक्षण उडान सफल भएको थियो । कुल १०.८ टन टेकअफ तौल रहेको W5000 ले ५ टनसम्म कार्गो बोकेर २ हजार ६ सय किलोमिटरसम्म उडान भर्न सक्ने क्षमता राख्छ ।

प्रकाशित : ११ मंसिर २०८३, बिहिवार 17:06

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved