नयाँदिल्ली । भारतीय स्ट्यान्डअप कमेडियन तथा युट्युबर यश महेश्वरी छठ पर्वको परम्परा र बिहारका महिलाबारे गरेको भनिएको आपत्तिजनक टिप्पणीका कारण विवादमा परेका छन्। उनको स्ट्यान्डअप कमेडी कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदै आलोचना भएपछि बिहारको पटना र भारतको राजधानी नयाँदिल्लीमा प्रहरी कारबाही अघि बढेको छ।
महेश्वरीको युट्युब च्यानल ‘Almostyash’ मा नोभेम्बर २१ मा सार्वजनिक गरिएको ‘Morally Questionable’ शीर्षकको स्ट्यान्डअप कमेडी भिडियोबाट विवाद सुरु भएको हो। उक्त भिडियोमा उनले छठ पर्वका अवसरमा विवाहित महिलाले नाकदेखि सिउँदोसम्म लगाउने लामो सिन्दूरको परम्परालाई लिएर अश्लील तथा यौन आशय झल्किने तुलना गरेको आरोप छ। साथै, बिहारका महिला र उनीहरूको वैवाहिक जीवनबारे पनि आपत्तिजनक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ।
विशेषगरी छठ पर्वसँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले असन्तुष्टि जनाएका छन्। विभिन्न व्यक्तिले महिलाको सम्मान, धार्मिक आस्था र बिहारको सांस्कृतिक पहिचानमाथि प्रहार भएको भन्दै उनीविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।
विवाद चर्किएपछि पटना साइबर प्रहरीले नोभेम्बर २४ मा महेश्वरीसँग सम्बन्धित युट्युब सामग्रीबारे जाहेरी दर्ता गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय न्याय संहिता (बीएनएस), २०२३ का धारा ७५(१), ७९, ३५१ र ३५२ तथा सूचना प्रविधि ऐनका धारा ६६सी र ६६डी अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले उक्त सामग्रीले महिलाको गरिमामा चोट पुर्याउनुका साथै सामाजिक सद्भाव र शान्तिसुरक्षामा असर पार्न सक्ने जनाएको छ।
यसैबीच, बिहार राज्य महिला आयोगले पनि घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीलाई आवश्यक कारबाही गर्न आग्रह गरेको छ। आयोगकी अध्यक्ष अप्सराले पटना प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकलाई पत्र लेख्दै घटनामा संलग्नमाथि कडा कारबाही गर्न, विवादित भिडियो हटाउन पहल गर्न र अनुसन्धानको प्रगतिबारे जानकारी उपलब्ध गराउन माग गरेकी छन्।
विवाद बढ्दै गएपछि महेश्वरीले नोभेम्बर २४ मा आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक रूपमा माफी मागेका थिए। उनले बिहारको सांस्कृतिक परम्पराबारे त्यसरी टिप्पणी गर्न नहुने स्वीकार गर्दै आफ्नो भनाइबाट कसैको धार्मिक भावना वा मन दुखेको भए क्षमा मागेका छन्। आगामी दिनमा सामग्री निर्माण गर्दा थप सावधानी अपनाउने र यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। त्यसपछि विवादित कमेडी भिडियो पनि आफ्नो च्यानलबाट हटाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
यता, नोभेम्बर २६ मा नयाँदिल्लीको साकेत प्रहरी चौकीमा पनि यसै घटनासँग सम्बन्धित उजुरीका आधारमा एफआईआर दर्ता भएको समाचार सार्वजनिक भएको छ। दक्षिण दिल्लीस्थित साकेतको एक कमेडी क्लबमा अक्टोबर २४ मा आयोजित कार्यक्रममा गरिएको भनिएको टिप्पणीबारे उजुरी परेको हो। उजुरीमा कार्यक्रमको भिडियो र अन्य डिजिटल प्रमाण जाँच गर्न माग गरिएको छ। उक्त मुद्दामा भारतीय न्याय संहिताका धारा ७९, १९६, २९६ र ३५२ उल्लेख गरिएको छ। यद्यपि, दिल्लीमा दर्ता भएको एफआईआरमा कमेडियनको नाम प्रत्यक्ष रूपमा उल्लेख नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक
कञ्चनपुरमा ७,४०० प्याकेट आतसबाजी बरामद, ३ लाख ७० हजार बराबरको पटका नष्ट
Nepal NB News
विराटनगरमा मोटरसाइकल दुर्घटना, स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु
Nepal NB News
देशभर बादल, चार प्रदेशमा हल्का वर्षा; भोलि अपराह्नदेखि प्रभाव कम हुँदै जाने
Nepal NB News
सिरहामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
Nepal NB News
चोभारबाट ४५ लाख बढीको भन्सार छलीका काजुसहित ईभी गाडी र दुई जना पक्राउ
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares