५ मंसिर २०८३, शुक्रवार 20 Nov 2026, Friday

चोभारबाट ४५ लाख बढीको भन्सार छलीका काजुसहित ईभी गाडी र दुई जना पक्राउ

Nepal NB News
४ मंसिर २०८३, बिहिवार

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको चोभार क्षेत्रबाट ठूलो परिणाममा भन्सार छली गरी ल्याइएको अवैध काजुसहित ढुवानीमा प्रयोग भएको ईभी (EV) गाडी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका अनुसार मिति २०८३ मंसिर ३ गते (२०८३।०८।०३) एपीएफ इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरिएको थियो । सोही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल, दङ्गा नियन्त्रण रेजिमेन्ट नीलवाराही र इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त सुरक्षा टोलीले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका–६ स्थित चोभार सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वार (मेनगेट) अगाडि सवारीसाधन चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कुनै पनि वैध बिल बिजक नभएका अवैध काजु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध काजु तथा उक्त सामान ओसारपसार र ढुवानीमा प्रयोग गरिएको ईभी गाडीको कुल मूल्याङ्कन ४५ लाख ८ हजार रुपैयाँ (रु. ४५,०८,०००।–) कायम गरिएको छ ।

नियन्त्रणमा लिइएका दुवै जना व्यक्ति, बरामद अवैध काजु र ईभी गाडीलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

प्रकाशित : ४ मंसिर २०८३, बिहिवार 16:47

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved