१० मंसिर २०८३, बुधवार 25 Nov 2026, Wednesday

चार महिनामा नेपालको आयात ३१.७७ र निर्यात ४३.४८ प्रतिशतले वृद्धि

Nepal NB News
१० मंसिर २०८३, बुधवार

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको वस्तु आयात तथा निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको हो।

विभागका अनुसार समीक्षा अवधिमा नेपालले ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात रकम ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो।

आयात र निर्यात दुवैमा वृद्धि भए पनि नेपालको व्यापार घाटा भने थप बढेको छ। समीक्षा अवधिमा व्यापार घाटा २९.६५ प्रतिशतले वृद्धि हुँदै ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो।

यसैगरी, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १४.३१ प्रतिशत पुगेको छ। यस्तै, आयातको हिस्सा भने ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ।

प्रकाशित : १० मंसिर २०८३, बुधवार 15:03

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved