१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

अविरल वर्षाले बागलुङमा ठूलो क्षति, १२ जनाको मृत्यु, २ महिला बेपत्ता

Nepal NB News
१३ असोज २०८३, मङ्गलवार

बागलुङ — अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा १२ जनाको मृत्यु भएको छ भने २ महिला बेपत्ता भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५ जना पुरुष, ६ जना महिला र ३ जना बालबालिका रहेका छन्। वर्षाका कारण भएको क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेकाले थप विवरण आउन सक्ने प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण जिल्लामा ५१ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, १० वटा गोठ पूर्ण र १ वटा गोठ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

वर्षाका कारण ३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रहरी कार्यालय, हाइड्रोपावर, विद्यालय, वडा कार्यालय, रिसोर्ट तथा कृषि फार्ममा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार २ वटा प्रहरी कार्यालय र २ वटा हाइड्रोपावरमा आंशिक क्षति, ९ वटा विद्यालयमा आंशिक क्षति, १ वटा वडा कार्यालय पूर्ण क्षति, २ वटा रिसोर्ट पूर्ण क्षति तथा १ वटा कृषि फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

यसैगरी, २६ वटा पशुचौपाया र १२५ वटा कुखुरा समेत क्षतिग्रस्त/नष्ट भएको विवरणमा उल्लेख छ।

प्रहरीले क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य भइरहेको जनाएको छ। वर्षाका कारण प्रभावित क्षेत्रमा सुरक्षा निकायको टोली परिचालन गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको छ।

प्रकाशित : १३ असोज २०८३, मङ्गलवार 12:08

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved