१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ, एक जनामाथि गोली प्रहार

Nepal NB News
२२ असोज २०८३, बिहिवार

Image: AI Generated

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना तथा नगद लुटपाटलगायतका कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ असोज १२ गते राति करिब ११ः४५ बजे काठमाडौं महानगरपालिका–३२, जडीबुटी पुलमुनिको सडकखण्डमा प्रहरी टोलीले सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २६ वर्षीय आयन माझीलाई बा.प्र.०२–०२७ प ५७७३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा फेला पारेको थियो।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा माझीले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसक्रममा प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरे पनि नियन्त्रणमा नआएपछि तत्कालको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले माझीको साथबाट लुटपाटमा प्रयोग भएको मोटरसाइकल तथा दुई थान मोटरसाइकल, पाँच थान नम्बर प्लेट र एक थान खुकुरी बरामद गरेको जनाएको छ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्ने क्रममा जिल्ला भक्तपुर, ठिमी नगरपालिका–४ बाट मकवानपुरको बकैया गाउँपालिका–७ घर भएका ३६ वर्षीय मनोज कुमार मोक्तान र ३४ वर्षीय रोकेश थिङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई वारदातको समयमा प्रयोग गरेका कपडासहित नियन्त्रणमा लिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित : २२ असोज २०८३, बिहिवार 16:50

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved