४ असोज २०८३, आइतवार 20 Sep 2026, Sunday

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

Nepal NB News
७ भदौ २०८३, आइतवार

इटहरी, भदौ ७ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित र्‍याडिसन होटलमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकतामा राख्न बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो।

महर्जनले अभिकर्ताहरूले ग्राहकको आर्थिक अवस्था, आवश्यकता तथा जोखिमको मूल्याङ्कन गरी उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने बताउनुभयो। बीमा योजना बिक्रीका क्रममा योजनाका सुविधा, शर्त, जोखिम तथा दायित्वबारे बीमितलाई स्पष्ट र पूर्ण जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो।

बीमा क्षेत्रमा देखिँदै आएको ‘मिसेलिङ’ अर्थात् गलत वा भ्रामक ढंगले बीमा योजना बिक्री गर्ने प्रवृत्ति न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो। ग्राहकलाई गलत, अपूर्ण वा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गर्दै महर्जनले अभिकर्ता कम्पनीका प्रतिनिधि मात्र नभई कम्पनीको ब्रान्ड एम्बेसडरसमेत भएकाले उनीहरूको व्यवहारले कम्पनीको प्रतिष्ठा र समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो।

उहाँले अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्दै पेशागत मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा प्रदान गर्ने, बीमालेखसम्बन्धी जानकारी उपलब्ध गराउने तथा दाबी प्रक्रियामा सहजीकरण गर्ने जिम्मेवारी अभिकर्ताको महत्वपूर्ण दायित्व रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका पदाधिकारी तथा विभिन्न तहमा कार्यरत बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अभिकर्ताहरूको उत्प्रेरणा अभिवृद्धि, पेशागत क्षमता विकास तथा बीमा व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो।

प्रकाशित : ७ भदौ २०८३, आइतवार 17:30

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved