१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भागाभाग, पक्राउ परेका एक जनाको मृत्यु

Nepal NB News
१३ असोज २०८३, मङ्गलवार

विराटनगर — विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागाभागका क्रममा पक्राउ परेका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको खुट्टा भाँचिएपछि उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार राति करिब ११ः३० बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा केही व्यक्ति तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेको थियो। प्रहरी पुगेपछि त्यहाँ रहेका व्यक्तिहरू भाग्न थालेका थिए।

त्यस क्रममा पक्राउ परेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले दुई तलामाथिबाट हामफालेपछि उनको दाहिने खुट्टा भाँचिएको थियो। उनको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त स्थानबाट आठ जनालाई पक्राउ गरिएको थियो। भागाभागका क्रममा कोइराला सामान्य घाइते भएका थिए। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य देखिएपछि उनलाई अन्य सात जनासँगै सोमबार राति हिरासतमा राखिएको थियो।

मंगलबार बिहान करिब ७ः३० बजे कोइराला हिरासतमा रहेका अन्य व्यक्तिहरूसँगै हुँदा अचेत अवस्थामा भेटिएका थिए। उनलाई उठाउन खोज्दा नउठेपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पठाएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएकोमा मंगलबार करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको थियो। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। उनको शव नोबेल शिक्षण अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका चन्दन मुखियाको श्री अस्पतालमा उपचार भइरहेको छ। उनी एम्बुलेन्स चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त घरबाट बलराम कोइराला र चन्दन मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, सोही ठाउँका ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद समेत बरामद भएको छ।

प्रकाशित : १३ असोज २०८३, मङ्गलवार 13:53

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved