१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद

२८ असोज २०८३, बुधवार

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले गाँजाजस्तो देखिने लागूऔषध पदार्थ र दुईवटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार बरामद पदार्थको कुल तौल ५७ किलोग्राम रहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति करिब ८:३० बजे देवानगञ्ज गाउँपालिका–४ मेहता टोलमा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकल चालक प्रहरी चेकिङ टोलीलाई देखेपछि भागेका थिए। त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा कालो प्लास्टिकमा बेरिएको ५१ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन राति करिब ८:४५ बजे देवानगञ्ज गाउँपालिका–६ रासी साहेबगञ्ज जाने भित्री सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिलाई देखेपछि प्रहरीले रोक्न खोजेको थियो। तर, ती व्यक्ति पनि मोटरसाइकल छाडेर फरार भएका थिए। उक्त मोटरसाइकल जाँच गर्दा झोलाभित्र ६ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले दुवै मोटरसाइकल र बरामद पदार्थ नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न मोटरसाइकल चालकहरूको खोजी कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २८ असोज २०८३, बुधवार 11:49

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved