१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

शिक्षक–कर्मचारीको प्रोत्साहन भत्तामा विभेद अन्त्य गर्न राष्ट्रिय शिक्षक सङ्गठनको माग

Nepal NB News
१३ असोज २०८३, मङ्गलवार

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षक तथा विद्यालय कर्मचारीका लागि राखिएको प्रोत्साहन भत्तामा विभिन्न श्रेणीका अस्थायी शिक्षक तथा कर्मचारीलाई समेत समेट्न सरकारसँग आग्रह गरेको छ।

सङ्गठनका अध्यक्ष हंशबहादुर शाही र महासचिव प्रकाश खनालले जारी गरेको विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी र अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीले समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा–सुविधा तथा प्रोत्साहन भत्तामा फरक व्यवहार गर्न नहुने उल्लेख गरिएको छ।

सङ्गठनले राहत, करार, साविक उच्च माध्यमिक तथा प्राविधिक धार, सङ्घीय शिक्षण सिकाइ अनुदान, बालविकास, विद्यालय कर्मचारी, लेखा सहायक, विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदानअन्तर्गत कार्यरत शिक्षक–कर्मचारीलाई पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरेको छ।

त्यसैगरी, अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको सेवा निरन्तरता, सामाजिक सुरक्षा, पेसागत सम्मान र दीर्घकालीन रोजगारी सुनिश्चित हुने गरी स्पष्ट नीति बनाउन सङ्गठनले सरकारको ध्यानाकर्षण गराएको छ। पटकपटक करार नवीकरण गर्नुपर्ने अवस्थाको अन्त्य गरी दीर्घकालीन समाधान खोज्नसमेत आग्रह गरिएको छ।

प्रकाशित : १३ असोज २०८३, मङ्गलवार 16:48

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved