१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण

Nepal NB News
१४ असोज २०८३, बुधवार

 दुबई । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाही विमानमा दुई पाइलटबीच भएको उग्र विवादपछि विमानको उडान मार्ग परिवर्तन गरी साउदी अरबतर्फ मोडिएको छ। विमानबाट अपहरणको संकेत दिने ‘७५००’ आपत्कालीन कोड प्रसारण भएपछि केही समय इजरायली सुरक्षा निकायमा समेत उच्च सतर्कता अपनाइएको थियो।

उडान ट्र्याकिङ विवरणअनुसार विमानले करिब दुई मिनेटको अवधिमा ३४ हजार फिटको उचाइबाट घटेर करिब १६ हजार ६ सय फिटसम्म पुगेको थियो। त्यसको केही समयपछि विमानबाट आपत्कालीन सङ्केत पठाइएको थियो।

घटनाबारे एक इजरायली अधिकारीले विमान अपहरण नभएको र विमानभित्रै चालक दलका सदस्यहरूबीच विवाद उत्पन्न भएको जानकारी दिएका छन्। विवादका क्रममा विमानको उडान असामान्य बनेपछि आपत्कालीन कोड सक्रिय भएको बताइएको छ।

विमानमा २७ बालबालिकासहित कुल १७४ जना यात्रु सवार थिए। उडानका क्रममा विमानले म्यानुअल रूपमा उचाइ घटाउँदै आफ्नो मार्ग परिवर्तन गरेपछि ‘७५००’ कोड प्रसारण भएको थियो। अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा उक्त कोड विमान अपहरण वा अन्य गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग हुन्छ।

आपत्कालीन सन्देश प्राप्त भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले सुरक्षा परामर्श गरेका थिए। इजरायली रक्षा बलका अनुसार सावधानीस्वरूप लडाकु विमानहरूलाई पनि तयारी अवस्थामा राखिएको थियो।

घटनापछि इजरायलको बेन गुरियन विमानस्थलबाट हुने उडानहरू केही समयका लागि रोकिएका थिए। विमानको अवस्थाबारे चिन्ता बढिरहेका बेला सुरक्षा अधिकारीहरूले विमान सुरक्षित रहेको जानकारी दिएका थिए।

पछि विमानलाई साउदी अरबको ताबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो र त्यहाँ सुरक्षित अवतरण गरेको बताइएको छ। विमान सुरक्षित रूपमा अवतरण गरेपछि प्रारम्भिक रूपमा देखिएको अपहरणको आशंका हटेको इजरायली सुरक्षा अधिकारीहरूले बताएका छन्।

पाइलटहरूबीच विवाद किन उत्पन्न भयो भन्ने विषयमा भने तत्काल थप विवरण सार्वजनिक गरिएको छैन। घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान अघि बढाइरहेका छन्।

प्रकाशित : १४ असोज २०८३, बुधवार 13:38

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved